कुनैपनि धर्मभन्दा पहिला हामी मान्छे हौं भन्ने विर्सन हुदैन : संयोजक भुसाल

अन्य गृहपृष्ठ समाचार
0Shares

६ पौष, अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीका संयोजक हरिप्रसाद भुसालले धर्मभन्दा म मान्छे हुँ भन्ने विर्सन नहुने बताउनुभएको छ ।

अर्घाखाँची इसाई समाजले क्रिसमस तथा नयाँ वर्ष २०२४ को अवसरमा सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा भुसालले धर्म अदृश्य कानून रहेको भन्दै कुनैपनि धर्म आफैमा नराम्रो नभएका बताउनुभएको हो ।

“धर्म भनेको अदृश्य कानुन हो । समाजलाई अनुशासित राख्न निर्माण गरिको दस्ताबेजको ब्यबहारिक ब्याख्या हो” भुसालले भन्नुभयो “हिन्दु, मुस्लिम, क्रिश्चियन, बौद्धिष्ट भन्दा पहिला हामी मान्छे हौं भन्ने सधै सम्झनुपर्दछ ।”

हरेक व्यक्ति मन परेको धर्म मान्न स्वतन्त्र रहेको भन्दै भुसालले प्रलोभन देखाएर धर्म परिवर्तन गराउनु गलत रहेको बताउनुभयो । “कतिपय अवस्थामा झुक्याएर, भुलाएर, प्रलोभन देखाएर धर्म परिवर्तन गराउने गरिएको पनि यही समाजमा देख्न सकिन्छ ।” भुसालले भन्नुभयो “स्वेच्छिक रुपमा कुनैपनि धर्म मान्न पाउने अधिकार कसैको पनि कुण्ठित हुनुहुदैन भन्ने कुरामा हामी सवै सजग र सचेत बन्नुपर्दछ ।”

भुसालको मन्तव्य जस्ताको तस्तै :

कार्यक्रमका अध्यक्ष ज्यू, अतिथी ज्यूहरु, पत्रकार साथीहरु र आयोजक तथा उपस्थित सम्पूर्णमा नमस्कार तथा जय घण्टीको अभिवादन ।

यो विशेष समारोहमा हामीलाई पनि आमन्त्रण गर्नुभएकोमा आयोजकप्रति म हार्दिक सम्मान तथा धन्यवाद अर्पण गर्न चाहन्छु । साथै क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा यहाँहरु सवैमा सुस्वास्थ्य दिर्घायुको कामना समेत गर्दछु ।

यो विशेष दिनले अरु धर्मको अस्तित्व स्वीकार गर्न, अरु धर्मावलम्वीले अंगिकार गर्ने पर्वहरुको सम्मान गर्न तथा अरु धर्ममा आस्था राख्नेहरुको इज्जत गर्न हामी सवै धर्मावलम्वीहरुलाई शक्ति प्रदान गरोस् भन्ने सुभेच्छा समेत अर्पण गर्दछु ।

निश्चयपनि, हाम्रो समाज हिन्दुहरुको बाहुल्यता भएको समाज हो । हिन्दुहरुको बाहुल्यता भएको समाज भएका कारण अरु धर्मावलम्वीहरुलाई निषेध गरिनुपर्छ भनेर कसैले भन्छ र सोच्छ भने त्यो अपराध हो ।
तर यो भन्दै गर्दा कतिपय अवस्थामा झुक्याएर, भुलाएर, प्रलोभन देखाएर धर्म परिवर्तन गराउने गरिएको पनि यही समाजमा देख्न सकिन्छ । स्वेच्छिक रुपमा कुनैपनि धर्म मान्न पाउने अधिकार कसैको पनि कुण्ठित हुनुहुदैन भन्ने कुरामा हामी सवै सजग र सचेत बन्नुपर्दछ ।

अन्त्यमा–
धर्म भनेको अदृश्य कानुन हो । समाजलाई अनुशासित राख्न निर्माण गरिको दस्ताबेजको ब्यबहारिक ब्याख्या हो ।

कुनै पनि धर्म कहिल्लै गलत भएन । बरु भयो के भने अनुयायिहरुको कम बुझाई वा कम अध्ययनले गर्दा यसको प्रचार गलत भयो र समाजमा द्विविधा उत्पन्न भयो । त्यसमा सबै धर्मालम्बीहरु सजग हुन जरुरी छ ।

र धर्मको अन्तिम उदेश्य भनेकै परोपकार, सहयोग र मानविय धर्म हो । एकले अर्कालाई सजिलो बनाउँदै समाजको ब्यबस्थापन गर्नु हो ।

यसैले– हामी अलग अलग धर्मालम्बीहरुले आफ्नो धर्ममा टेकेर समाज उत्थानको लागि मानवतावादको धर्म अङ्गाल्नुपर्छ । हिन्दु, मुस्लिम, क्रिश्चियन, बौद्धिष्ट भन्दा पहिला हामी मान्छे हौं भन्ने सधै सम्झनुपर्दछ ।

मानवतावाद नै सबै धर्मको मोटो भएकोले– सामाजिक बिकृतिहरु नियन्त्रण गर्दै सभ्य, चेतनशील अनि सुसंस्कृत समाजको स्थापना गरौं ।

यसैमा म, तपाईहरु र सिंगो समुदाय लाग्नुपर्दछ ।

यो पावन अबसरमा आफ्ना कुरा राख्ने मौका दिनुभएकोमा धन्यबाद दिँदै क्रिसमसको शुभकामना दिन चाहन्छु ।

सवैको जय होस् । नमस्ते ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *